31 March 2010

जात्रा हाँडीगाउँको !!!

वर्षैभर विभीन्न सांस्कृतिक र धार्मिक पर्वहरु मनाईने हाँडीगाउँमा जात्राहरु धेरै नै हुन्छन र नै ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने ऊखान समेत नेपाली भाषामा प्रचलीत छ । यस्तै एउटा जात्रा आजको दिनमा आफ्नै घर-आँगनाम भएको थियो ।

जात्रा याने ‘यात्रा’ को अपभ्रशीत शब्दले नै जनाउँछ कि यो एक स्थानबाट अर्को स्थानसम्म भगावानको रथ वा खटको यात्रा हो ।

काठमाण्डौ महानगपालीकाको वडा नं ५ मा एउटा धार्मिक तथा सांस्कृतिक महत्वको पोखरी छ। ‘गहना खोज्ने पोखरी’ र बोलीचालीमा ‘गहना पोखरी’ पनि भनिने सो पोखरीमा प्रत्येक वर्षको वैशाख कृष्ण प्रतिपदाको दिनमा एउटा अत्यन्त धार्मिक महत्वको जात्रा हुन्छ । अँ त, यो जात्रा हो माता टुँडालदेवीको ।

किंबदन्ती अनुसार परापूर्व कालमा टुँडालदेवी माताले एक पटक यसै पोखरीमा स्नान गर्ने क्रममा वहाँका केही गहनाहरु यसै पोखरीमा हराएछन । तत् पश्चात प्रतेक वर्ष सोही दिनमा यहाँ सो गहना खोज्नको लागी माता टुँडालदेवीको प्रतिमालाई खटमा आरोहण गराई सो खट समेत नै यसै पोखरीमा हेलिन्छ ।

विभिन्न धर्ममा जात्रा वा यात्राका परम्परा भएपनि यसरी देवीको रथ नै पोखरी भित्र हुल्ने यो जात्रा भने एकदमै अनौठो र रोमाञ्चक हुन्छ । आजको पोस्टमा यही माता टुँडालदेवीको गहना खोज्ने जात्राका केही झलकहरु ।

Gahana Khojne Pokhari (यहि हो प्रसिद्ध गहना खोज्ने पोखरी—जात्राको केही दिन अगाडि)

Handigaon Jatra (माता टुँडालदेवीको खट उठाउँदै)

Jatra 2 (यो खटलाई यसरी नै गाँउको परिक्रमा गराई पोखरि सम्म लगिन्छ

Jatra Handigaon (परिक्रमाको क्रममा यसरी नै चदुवा राखेको मुनी खट रोकेर पुजा गर्ने चलन छ)

Before Procession (गहना खोजेको हेर्ने प्रतिक्षारत दर्शनार्थिहरु)

Searching Ornaments (पोखरी भित्र रथ घुमाएर गहना खोज्दै)

(अन्तिम फोटो खिच्नेबेलामा भने हावा-हुरी आएर अचानक अध्याँरो भएको र भिडले गर्दा फोटो सफा आएन...अर्को साल ट्राई गर्नु पर्ला फेरि ! )

साँच्चै जापानमा पनि कहाँ हो करिब करिब यस्तै गरेर रथ पानी भित्र घुमाउने चाड हुन्छ भन्ने सुनेको थिएँ ...जापानमा बस्ने कोही साथिहरुलाई थाहा छ कि ?

अरू यता ...

17 March 2010

लौ घुम्नुस असन- इन्द्रचोक !

फोटो खिच्ने बिचार थिएन र फोटो खिच्ने तयारी पनि थिएन । क्यामरा नबोकी घरायसी कामको सिलसीलामा आज असन-इन्द्रचोक पुग्दा अचानक त्यहाँको दृश्यले मन खिच्यो । देशको राजधानी शहरको पुरानो र पारम्पारीक बजार क्षेत्र जहाँ नुन देखी सुनसम्म र खाद्यान्न देखि जडिबुटीसम्मको व्यापार हुन्छ, त्यहाँ पुग्दा केही तस्बिर उतार्नै मनलाग्यो र साथमा रहेको मोबाइल फोनबाट केही दृश्यहरु कैद गरें ।

हुन त देशमा आजकल ठूला ठूला सुपरमार्केट र डिपार्टमेण्टस्टोरहरु खुलेका छन, तैपनि हाम्रो पुरानो र प्यारो असन-ईन्द्रचोकले आफ्नो रौनक र वैभव दुबै अझै कायम राखेको छ । मसिनो गल्लीको दुबैतर्फ रहेका साना-ठुला ढीक र सटर भीत्र खोजेमा नभेटीने सामान सायदै होलान । त्यही विविधता, उपलब्धता र प्राचिनतासंगै जीउँदै रहेको यस्को लोकप्रियतालाई यही तस्विरकै माध्यमले भएपनि बाँढने प्रयास गर्दैछु । बेलामौकामा त्यही पुग्नेलाई सायदै केही नौलो नलाग्ला तर विदेशमा बस्नेहरुलाई भने सायद केही सम्झना र केही न्यानोपन दिन्छ कि यि तस्विरहरुले :

Mata Annapurna (असन-इन्द्रचोकको बयान माता अन्नपूर्णको मन्दिर विना त हुनै सक्दैन हैन र )

Ashan Indrachwok (2) (इन्द्रचोकमा यात्री र सामान ढुवानीको पर्खाईमा रहेका रिक्साहरु)

Ashan Indrachwok (1) (इन्द्रचोकबाट देखिने असनतर्फको दृश्य)

Ashan Indrachwok (3) (काठमाडौंको जाडोबाट जोगाउने ओडनेको पारम्पारीक बजार)

Flute( यो बाटोमा यस्ता बाँसुरी र मुरलीका ‘रुख’हरु पनि बराबर देखिइरहन्छन )

Ashan Indrachwok (5) (श्वदेसी क्रेता र विदेशी पर्यटक सबैले खोजेका वस्तु पाईन्छन यहाँ)

अरू यता ...

02 March 2010

असीनाको आतंक

हुन त उपत्यकाको लागि असीना कुनै नौलो कुरा होईन र यहाँ प्राय: प्रत्येक वर्ष १-२ पटक असीना पर्छ पनि । तर यस पटक भने असीना असीना मात्रै नभै करिब करिब आतंक नै बनेर बर्सीयो । हिँजो साँझ ( मार्च १, २०१०) करिब सात बजेको समयमा लोडसेडीङ मनाउँदै घरमा सबैजना एउटै कोठामा बसीरहेका थीयौं, अचानक बाहिर धेरै परदेखि आकाश नै थर्कने गरी हावाहुरीको आवाज आयो ।

सबैले सोच्यौं पानी पर्दैछ । तर अचानक, घरको छत र झ्यालमा तेजसंग टक् टक् टक् को बेरीतको आबाजसंगै असीना बर्सेको थाहा भयो । करिब १० मिनेटको जोरदार वर्षा पछि हुरी बतास र असीना साम्य भयो । सिमसिम पानी भने पर्दै थियो, घर बाहिर निक्लेर हेर्दा अनौठो दृश्य देखीयो ।

बाहिर बारी, चउर, बाटो, छत सबै बाक्लो हिमपातको बेलामा जस्तै सेताम्य भएका थिए र रातमै भए पनि निकै रोमान्चक वातावरण बनेको थियो । हुन त यसले बालीनालीलाई र अन्य भौतिक पूर्वाधारहरुलाई पनि नोक्शान पुर्‍याएको होला र यसको मात्राको बारेमा मौसम विभागको जानकारी पनि हेर्नै बाँकी छ। तर मेरो आफनो कुरा गर्ने हो भने, जीवनमै यत्ती कम समयमा यत्ती बाक्लो असीना परेको कहिल्यै थाहा छैन । रातको समय र साधारण डिजिटल क्यामरा मात्रै साथ भएकोले मैले देखेजस्तै दृश्य क्यामरामा कैद भएनन् तर पनि तस्विरबाटै हेर्नुस हिँजोको असीनाको आतंक :

Lane 2  (आफ्नै घर छिर्ने बाटो—छैन त बाक्लो हिउँ परेजस्तो !)

Road (घर बाहिरको मूल सडक—गाडीहरु चलीसकेपछी पनि यस्तै थीयो)

Tiles (छिमेकीको टाएलको छाना—यो असीना आज बिहानसम्म पनि पग्लेको थिएन)

Tap (धारामा थुप्रीएर बाक्लिएको बरफजस्तो असीना)

Broken Branch (असीनाले क्षतिग्रस्त आफ्नै बारीको भिमसेनपाती)

Lane 1 (घर-कम्पाउण्ड भित्रको बाटो—असीनाले सेताम्य)

Bari (रातको समय र साधारण डिजिटल क्यामरा भएपनि बारीको दृश्य लिने एउटा कोशीस)

अरू यता ...