03 September 2012

स्वर्णिम युगका ढुङ्गेधारा र ढुङ्गेयुगका हामी !

स्कुल पढ्ने बेलामा इतिहास पढ्दा लिक्षवी काललाई नेपालको ‘स्वर्ण युग’ भनेको देख्दा अलि अचम्म लाग्थ्यो । त्यति बेला के नै थियो होला र त्यसलाई स्वर्ण युग भनियो होला भनेर । लाग्थ्यो, अहिलेको समय नै त्यो समय भन्दा विकसित र आराम पूर्ण छ र हामी कुनै पनि ऐतिहासिक कालखण्डमा भन्दा अहिलेको समयमा बढी सुविधा सम्पन्न छौँ । इतिहासमै फेरि मल्ल काललाई पनि ‘सम्पन्न’ भनेको देख्दा पनि बेमेल झैँ लाग्थ्यो ।

केही समय अगाडि उपत्यकाको विभिन्न स्थानमा रहेका ढुङ्गेधाराहरू देख्दा लाग्यो, हो अहिलेको युग भन्दा पुरानो समय नै स्वर्णीम थियो र अहिलेको नेताहरू भन्दा ढुङ्गे युगका नेतृत्व नै बढी सक्षम र कुशल थिए ।

सैयौ-हजारौँ वर्ष अगाडि बनाइएका कैयौँ ढुङ्गेधाराहरूको हालको दशा देखेर लाग्यो अहिलेको नेतृत्व मात्रै नालायक हैन्, तात्कालिन ‘रैती’ भन्दा पनि हामी आजका ‘नागरिक’ पनि अझै गए-गुज्रेका छौँ । ब्लग नै लेख्न भनेर उपत्यकाको सबै ठाउँ चहारेर त हिँडिन, तर बेला बखत बाटो पर्दा पुगेको ठाउँमा रहेका ढुङ्गेधाराहरूको बिजोगको तस्विर भने उतारेको छु । अधिकांश स्थानमा पुर्खाले बनाइ दिएका यस्ता ढुङ्गेधाराको दयनीय हालत छ र ढुङ्गेयुगका ती विरासत अहिले ‘धारा’ हैन ‘ढुङ्गा’मा मात्रै सिमीत भएका छन् । आजको पोस्टमा यस्तै केही ढुङ्गेधाराहरू:

(फोटो ठूलो पारेर हेर्न कुनै पनि फोटोमा क्लिक गर्नुहोला - - फोटो आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)

Sundhara

(यो काठमाण्डौको प्रसिध्द सुनधारा - - ‘सुन’ त यहाँ पहिले देखि नै थिएन अब पानी नआउने भएकोले ‘धारा’ पनि रहेन)

Dhunge Dhara (13)

(अनि यो आफ्नै घर नजिकको सत्यनारायण मन्दिर नेरको ढुंङ्गेधारा – यहाँ पनि पानी नबगेको धेरै भइसक्यो ।)

Dhunge Dhara (9)

(हाँडिगाउँ कै यो अर्को ढुङ्गेधारा – विस्तारै खण्डहर हुँदै छ यो पनि)

Dhunge Dhara (8)

(धोविधाराको यो अर्को सुख्खा धारा—धन्न यहाँ फोहर थुपारिएको भने छैन्)

Dhumra Baraha

(धुम्रबराह (धुमबाराही) नेरको अर्को सुख्खा धारा—पानी नआउने धारा यत्ति सफा देखिनु पनि अचम्म नै हुन्छ आजकल :)

Dhunge Dhara (5)

(धोवीधारा कै यो अर्को फोहर धारा, यहाँ पानी हैन, ढुङ्गेधारा खोज्न पनि मुश्किल पर्छ)

Jayabageshwari (1)

बल्ल बल्ल जयवागेश्वरीमा एउटा पानी आउने धारा देखियो - - तर त्यहाँसम्म पुग्न पौडेर जानुपर्ने स्थिति थियो)

Dhobi Dhara (5)

(यो धाराको बिजोग मात्रै हैन्, यसले हाम्रो वौद्धिकता र सामाजिक उत्तरदायित्वलाई पनि झल्काउँछ )

Dhunge Dhara (3)

(धन्न पाटन दरवार क्षेत्रमा एउटा पानी आउने धारा पनि भेटियो – पानी थाप्न राखिएको भाँडाहरूको दोहोरो लामले यहाँ पानी आउँदो रैछ भन्ने प्रमाणित गर्थ्यो)

अन्तमा लाग्यो ढुङ्गेधाराहरू ढुङ्गेयुगमा हैन्, स्वर्णीम युगमा नै बनेका रहेछन्। बरू ती विरासतलाई सम्हालेर राख्न नसक्ने हामीमा नै कतै ढुङ्गेयुकका मानसिकता त छैन ?

अरू यता ...

16 June 2012

कंक्रिटले गाँजेको काठमाण्डौ !

त्यसो त काठमाण्डौ पहिला पनि खुल्ला वा स्वच्छ सास मिल्ने सहर भने थिएन भन्दा पनि हुन्छ। त्यसमा पनि सुविधा, सुरक्षा वा सहुलियत केही नभए पनि यहाँ ओइरिने जनघनत्वमा खासै कमी नआएको र दिनदिनै बन्दै गरेका भीमकाय विशाल भवनहरूले काठमाण्डौलाई झनै गाँज्दै लगेको छ । कुनै वेला भानुभक्तले ‘अमरावती’ को संज्ञा दिएका हाम्रो राजधानी अहिले धूलो, मैलो र फोहरले मात्रै हैन्, अनियन्त्रित र बेढंगले बनाइएका संरचनाहरूका कारण झन् झन कुरूप हुँदै गइ रहेको छ ।

केही हप्ता यता कामको सिलसिलामा तीन सहर घुम्ने क्रममा १-२ वटा अग्ला भवनहरू माथि उक्लेर हेर्दा यो सहरको रूप ‘बिरूप’ भएको झन प्रस्ट भयो । आजको पोस्टमा यही अमरावती बाट अधोगती तर्फ लम्केको काठमाण्डौका केही कंक्रिट जङ्गलका तस्विरहरू:

(फोटोलाई ठूलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला। फोटो स्वत: ठूलो आकारमा अर्कै पेजमा खुल्नेछ )

Dilli Bazaar

(कुरूपता माथि नयाँ दाह्रा र नङ्ग्रा--डिल्लीबजार कालिकास्थान तर्फको एक दृश्य)

Dillibazaar

(हावा समेत छिर्न मुस्किल होला जस्ता संरचनाहरू—डिल्लीबजार छेउको अर्को कोण)

Soyambhu

(कंक्रिटको घना जङ्गल—स्वयम्भु माथिबाट देखिने एक दृश्य)

Yekantauna

(खाली ठाउँ त कहाँ छ र ? – एकान्तकुनाबाट हेर्दा यस्तो देखिन्छ)

Soyambhu side

(थाहा छैन यो सहरले कसरी सास फेर्छ—स्वयंम्भु माथीबाट देखिने तुवाँलोले ढाकेको दृश्य)

IMG044

(यो पनि खाली ठाउँ भने हैन है … एयरपोर्ट माथिबाट पश्चिमतर्फको विस्तार हुँदैको जङ्गल)

Chabahil

(यो खुल्ला क्षेत्र पनि कत्ति नै टिक्ला र—फैलिदैँ आएको विस्तारले अतिक्रमित धोवीखोला छेउ)

अरू यता ...

08 September 2011

पशुपतिको सेरोफेरो

पशुपति, नेपालीहरूको मात्रै हैन्, संसार भरीकै हिन्दूहरूको आस्थाको केन्द्र । तर नजिकको तीर्थ हेलाँ भन्ने नेपाली उखान सहीमा चरितार्थ हुने हुनाले घरबाट नजिकैको यो तीर्थमा पुग्न पनि साइत वा पर्व जुर्नु पर्छ हामीलाई । यसपाला पनि यस्तै साइत जुररे तीजको समयमा पशुपति पुगेकी थिएँ।

गुगल वा वेबमा खोजेमा पशुपतिको खोजेभन्दा बढी तस्विरहरू भेटिनेछन् । त्यसैले यसपाला पशुपति पुगे पनि पशुपतिको भन्दा पनि ‘वरिपरि’को फोटो लिने सोच भयो । पशुपतिको मूल मन्दिरको तस्बिर नलिइ कुनाकाप्चा र वरिपरिको फोटो लिने क्रममा केही क्लिक गरियो । आजको पोस्टमा पशुपति वरिपरिका तीनै केही तस्बिरहरू:

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3680

(पारीबाट ‘वरिपरि’ हेर्दा यस्तो देखिन्थ्यो—धन्न पानी परिरहेकोले बागमती बगेकै थियो )

100_3682

(मकैका दाना चुभ्न व्यस्त परेवाहरू र तीनलाई रमाएर हेर्दै रहेका केटाकेटीहरू)

100_3756

(जत्ति फोहर भए’नि ‘बागमती’ नै हो भनेर नुहाउँदै--पक्कै घर गएर सबैले फेरि नुहाए होलान Smile)

100_3690

(साधु-सन्यासी र स्वाधीहरूको आफ्नै संसार)

100_3760

(पुण्य कमाउन आएका र पैसा कमाउन बसेकाहरूको भीड)

100_3729

(के गर्ने पेट भर्नै पर्‍यो - - दाना र प्रसाद खोज्दै एउटा अर्को गेरूवावस्त्र धारी सन्यासीLaughing out loud)

अरू यता ...

07 April 2011

छोरीको प्रोजेक्ट वर्क र काठमाण्डौका धरोहरहरू !

ब्लगमा हाल्ने सर्जामको अभाव भएको हैन्, तर केही व्यस्तता, केही अलमस्तता र केही भने बिजुली बत्तीको अस्तव्यस्तता ले गर्दा ब्लग अपडेट नगरेको पनि धेरै भएछ । यो बीचमा केही ‘ब्लग बन्न सक्ने’ तस्विरहरू पनि खिचेकी थिएँ तर माथि भनिएकै प्रतक्ष र अप्रतक्ष कारणहरूले गर्दा ब्लग धेरै दिन सम्म सक्रिय हुन सकेन ।

यो बीचमा केही तस्विरहरू खीचेकी थीएँ-- छोरीको प्रोजेक्ट वर्कको लागि—। हो, केही समय अगाडि तीन कक्षामा पढ्ने छोरीलाई एउटा प्रोजेक्ट दिईएको थियो, काठमाण्डौका केही ऐतिहासिक संरचनाका तस्विरहरू जम्मा पारेर कपिमा टाँस्न !। हुन त इन्टरनेटमा सर्च गरेको भए पनि ती सबै उपलब्ध हुन्थे नै, तैपनि यो प्रोजेक्ट वर्क अप्रतक्ष रूपमा ३ कक्षाका विद्यार्थीलाई हैन्, उसका बाबुआमालाई नै दिइएको हो भन्ने लागेकोले एउटा बिदाको दिनमा क्यामेरा लिएर निस्केँ ।

धूलो-धूवाँ र प्रदूषणको साम्राज्य भित्र अझै पनि केही यस्ता धरोहरहरू काठमाण्डौमा छन्, जसले काठमाण्डौंको धूमिल हुँदै गएको ईतिहासलाई जिवन्त राखेका छन् । छोरीको प्रोजेक्टमा यी तस्विरहरू टाँसीइसके र उस्को प्रोजेक्ट ‘सफल’ पनि भैसक्यो । आजको पोस्टमा तीनै केही तस्विरहरू टाँसेर आफ्नो ब्लगलाई पनि पुनः सक्रिय गराउँदै छु :

Dharahara

(बाहिर २५, भीत्र २१३ सिँढी भएको, २०३ फिट उचाई भएको, १९८२ सालमा निर्माण गरिएको भीमसेन स्तम्भको नामले परिचित धरहरा –दुई भिन्न कोणबाट)

Nag Pokhari

(यहाँ मैले कहिल्यै नाग देखेको छैन, कहीले काहीँ पानी पनि हुँदैन, तर यही हो काठमाण्डौको प्रसिद्ध नाग पोखरी)

Sahit Gate

(कि शहीद द्वार भनेको भए हुन्थ्यो, कि त “Martyr Gate”। आधा अङ्ग्रेजी र आधा नेपाली शब्दको नाम राखिएको अर्को धरोहर—सहीद गेट)

Ghanta Ghar

(काठमाण्डौको कथा बीर शमसेरले बनाएको घण्टाघरको चर्चा विना कसरी सकिन्छ र—अझै पनि चल्दै छ र समय बताउँदै छ यो बुढो घण्टाघरले )

Rani Pokhari

(सहरीकरण र सक्रमणले च्यापीदै गएको अर्को स्थान—गणतन्त्र नेपालको ‘रानी पोखरी’ Laughing out loud)

र अन्तमा यो बोनस फोटो:

Kathmandu Road Night

(रानी पोखरीको किनारमा साँझको चपेटा—सबैलाई घर फर्कने हतार)

अरू यता ...

15 October 2010

फेरि 'बन्द' ????, हैन दसैँ !!!

ब्लग अपडेट नगरेको पनि धेरै भयो । केही कार्य व्यस्तता र केही भने आफ्नै अल्छीपनका कारण धेरै दिन सम्म यो पन्नामा केही नयाँ कुरा हालिएको थिएन । हिजो आफ्नै किनमेलको लागि बाटोमा निस्कँदा अचानक बाटोमा एउटा ‘फोटो ब्लग’ बनिरहेको देखेँ । क्यामरा बोकेकी थिईँन त्यसैले साथमा रहेको मोबाईल क्यामराबाट ३-४ क्लिक गरी हालेँ ।

एउटा अनौपचारिक आँकडाका अनुसार दसैँको समयमा काठमाण्डौबाट करिब ३० देखि ४० % सम्म मानिसहरू बाहिर अर्थात काठमाण्डौबाट आ-आफ्नो घर फर्कन्छन् । त्यसैले भन्नलाई दसैँको रमझम भने पनि दसैँकै बेलाको काठमाण्डौ अरु बेलाको भन्दा केही सुनसान र खाली-खाली जस्तो देखिन्छ ।

बाहिर घर हुनेहरु आ-आफ्ना घर फर्कनाले मात्रै हैन, स्कूल, कार्यालय र प्राय: कुनैपनि किसिमका ओपचारिक कार्यक्रमहरु यो बेलामा नहुने भएकोले काठमाण्डौका सडकमा गुड्ने गाडिको संख्यामा यति बेला उल्लेख्य रुपमा कमी आएको हुन्छ । यसै कारण कुनै कुनै ठाउँमा त यो केही दिन सडक चकमन्न भएर ‘बन्द’ नै भएको हो कि जस्तो पनि आभास हुन्छ ।

हिजोको दिन तुलनात्मक रुपमा अरु दिन भन्दा केही चिसो भएको र बेला बेलामा पानी पनि परेकोले पनि सायद सडक अरु दिनभन्दा सुनसान र खाली थियो हिँजो ।

ल त, दसैँको शुभकामना सहित दसैँले रित्याएको काठमाण्डौका सडकका केहि झलकहरु :

Bandh or Dashain  (2)(बानेश्वर हाइटको यो सुनसान सडक- अरु बेलामा यहाँ 'जाम' नै लाग्ने गर्छ Smile)

Bandh or Dashain  (5)(चाबहिल जोडने कालोपुल- दसैँ लागेर सुनसान छ)

Bandh or Dashain  (3)(रातोपुल बाट गौशाला जाने बाटो--अरु बेलामा यहाँ बाटो काट्न पनि मुश्किल हुन्छ)

Bandh or Dashain  (1)(बन्दको बेलामा बाहेक अरु बेलामा काठमाण्डौमा यस्तो खाली सडक देख्नुभा छ? Open-mouthed smile)

Happy Vijaya Dashami !!!

अरू यता ...

16 April 2010

हाँडीगाउँको अनौठो कृष्ण मन्दिर !

त्यसो त अधिकांश मानिसहरु हिन्दू धर्ममा आस्था राख्ने काठमाण्डौका चोक, गल्लीमा कृष्ण मन्दिर र हिन्दूहरुले पूज्दै आएका पिपलको रुख देखिनु कुनै अचम्मको कुरा हैन, तर काठमाण्डौंको हाँडिगाउँ वडा नं ५ को भुत्तेश्वर नेर भने एउटा गजबको संयोग बनेको छ । कृष्ण मन्दिर र पिपलको विशाल रुखको ।

प्राचिन मानिने सो कृष्ण मन्दिरको छानामा पिपलको विशाल रूख खडा भएको छ । तर अचम्म के भने सो रुखले मन्दिरलाई भत्काएको छैन बरु उल्टै यसका जराहरुले मन्दिरका गाह्रोहरुलाई दह्रोसंग समातेर अड्याएको छ, मानौं मन्दिर बनाउने बेलामा नै रुखको हिसाब किताब गरेर बनाईएको होस । मन्दिरको छानाको बिचबाट खुल्ला आकाशतर्फ हान्निएको विशाल रुखले मन्दिरलाई भत्काउने हैन बरु रहश्यमय र आकर्षक बनाईदिएको छ ।

यहाँको कृष्ण मूर्ति जयप्रकाश मल्लको कालमा निर्मीत मानिन्छ भने यो प्राचिन मन्दिरको गजुर भेद्दै उर्ध्वगमनमा निक्लेको पिपल पनि निकै पुरानो रूख हो ।

यसै पनि हामीकहाँ पिपलको रुख काट्न हुन्न भन्ने परम्परा छ त्यसमाथि पनि झट्ट हेर्दा हाल यो रुख कहाँ अन्त हुन्छ र मन्दिर कहाँ सुरु हुन्छ भन्ने पनि ठम्याउन मुश्किल छ ।

गीतामा श्रीकृष्णले

अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः ।

भन्दै वृक्षमा आफू पिपल भएको उद्घोष पनि गर्नु भएको छ । सायद यो भगवानकै लिला हो कि त ? । जे होस आजको पोस्टमा यही अनौठो कृष्ण मन्दिरका केही तस्विरहरु:

(ठूलो गरेर हेर्न कुनैपनि तस्विरमा क्लिक गर्नुहोला: सो तस्विर आफैं अर्को पेजमा खुल्ने छ)

Handigaon Krishna Temple (1)(मन्दिरले रुख थामेको हो कि रुखले मन्दिरलाई अड्याएको हो !)

Handigaon Krishna Temple (2)(नजिकबाट हेर्नुस त मन्दिरको सबै सुरमा थामको काम गरेका छन मोटा मोटा जराहरुले)

Handigaon Krishna Temple (7)(अगाडि मात्रै हैन मन्दिर पुरै जकडिएकोछ पिपलकै जराले)

Handigaon Krishna Temple (9)(यो अर्को कोणबाट)

Handigaon Krishna   (जसको मन्दिरको चर्चा उसैको दर्शन नगराउनु पनि भएननि त, ल यिनै हुन ति लिलाधर!)

अरू यता ...

17 March 2010

लौ घुम्नुस असन- इन्द्रचोक !

फोटो खिच्ने बिचार थिएन र फोटो खिच्ने तयारी पनि थिएन । क्यामरा नबोकी घरायसी कामको सिलसीलामा आज असन-इन्द्रचोक पुग्दा अचानक त्यहाँको दृश्यले मन खिच्यो । देशको राजधानी शहरको पुरानो र पारम्पारीक बजार क्षेत्र जहाँ नुन देखी सुनसम्म र खाद्यान्न देखि जडिबुटीसम्मको व्यापार हुन्छ, त्यहाँ पुग्दा केही तस्बिर उतार्नै मनलाग्यो र साथमा रहेको मोबाइल फोनबाट केही दृश्यहरु कैद गरें ।

हुन त देशमा आजकल ठूला ठूला सुपरमार्केट र डिपार्टमेण्टस्टोरहरु खुलेका छन, तैपनि हाम्रो पुरानो र प्यारो असन-ईन्द्रचोकले आफ्नो रौनक र वैभव दुबै अझै कायम राखेको छ । मसिनो गल्लीको दुबैतर्फ रहेका साना-ठुला ढीक र सटर भीत्र खोजेमा नभेटीने सामान सायदै होलान । त्यही विविधता, उपलब्धता र प्राचिनतासंगै जीउँदै रहेको यस्को लोकप्रियतालाई यही तस्विरकै माध्यमले भएपनि बाँढने प्रयास गर्दैछु । बेलामौकामा त्यही पुग्नेलाई सायदै केही नौलो नलाग्ला तर विदेशमा बस्नेहरुलाई भने सायद केही सम्झना र केही न्यानोपन दिन्छ कि यि तस्विरहरुले :

Mata Annapurna (असन-इन्द्रचोकको बयान माता अन्नपूर्णको मन्दिर विना त हुनै सक्दैन हैन र )

Ashan Indrachwok (2) (इन्द्रचोकमा यात्री र सामान ढुवानीको पर्खाईमा रहेका रिक्साहरु)

Ashan Indrachwok (1) (इन्द्रचोकबाट देखिने असनतर्फको दृश्य)

Ashan Indrachwok (3) (काठमाडौंको जाडोबाट जोगाउने ओडनेको पारम्पारीक बजार)

Flute( यो बाटोमा यस्ता बाँसुरी र मुरलीका ‘रुख’हरु पनि बराबर देखिइरहन्छन )

Ashan Indrachwok (5) (श्वदेसी क्रेता र विदेशी पर्यटक सबैले खोजेका वस्तु पाईन्छन यहाँ)

अरू यता ...