त्यसो त अधिकांश मानिसहरु हिन्दू धर्ममा आस्था राख्ने काठमाण्डौका चोक, गल्लीमा कृष्ण मन्दिर र हिन्दूहरुले पूज्दै आएका पिपलको रुख देखिनु कुनै अचम्मको कुरा हैन, तर काठमाण्डौंको हाँडिगाउँ वडा नं ५ को भुत्तेश्वर नेर भने एउटा गजबको संयोग बनेको छ । कृष्ण मन्दिर र पिपलको विशाल रुखको ।
प्राचिन मानिने सो कृष्ण मन्दिरको छानामा पिपलको विशाल रूख खडा भएको छ । तर अचम्म के भने सो रुखले मन्दिरलाई भत्काएको छैन बरु उल्टै यसका जराहरुले मन्दिरका गाह्रोहरुलाई दह्रोसंग समातेर अड्याएको छ, मानौं मन्दिर बनाउने बेलामा नै रुखको हिसाब किताब गरेर बनाईएको होस । मन्दिरको छानाको बिचबाट खुल्ला आकाशतर्फ हान्निएको विशाल रुखले मन्दिरलाई भत्काउने हैन बरु रहश्यमय र आकर्षक बनाईदिएको छ ।
यहाँको कृष्ण मूर्ति जयप्रकाश मल्लको कालमा निर्मीत मानिन्छ भने यो प्राचिन मन्दिरको गजुर भेद्दै उर्ध्वगमनमा निक्लेको पिपल पनि निकै पुरानो रूख हो ।
यसै पनि हामीकहाँ पिपलको रुख काट्न हुन्न भन्ने परम्परा छ त्यसमाथि पनि झट्ट हेर्दा हाल यो रुख कहाँ अन्त हुन्छ र मन्दिर कहाँ सुरु हुन्छ भन्ने पनि ठम्याउन मुश्किल छ ।
गीतामा श्रीकृष्णले
अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः ।
भन्दै वृक्षमा आफू पिपल भएको उद्घोष पनि गर्नु भएको छ । सायद यो भगवानकै लिला हो कि त ? । जे होस आजको पोस्टमा यही अनौठो कृष्ण मन्दिरका केही तस्विरहरु:
(ठूलो गरेर हेर्न कुनैपनि तस्विरमा क्लिक गर्नुहोला: सो तस्विर आफैं अर्को पेजमा खुल्ने छ)
(मन्दिरले रुख थामेको हो कि रुखले मन्दिरलाई अड्याएको हो !)
(नजिकबाट हेर्नुस त मन्दिरको सबै सुरमा थामको काम गरेका छन मोटा मोटा जराहरुले)
(अगाडि मात्रै हैन मन्दिर पुरै जकडिएकोछ पिपलकै जराले)
(जसको मन्दिरको चर्चा उसैको दर्शन नगराउनु पनि भएननि त, ल यिनै हुन ति लिलाधर!)