24 May 2011

नराम्रो 'बन्द' र राम्रो सन्देश !

बुढा-बुढीको झगडामा बन्द, गोरूले अर्काको बारीमा बाली नास्दा बन्द, चिट चोर्न नपाउँदा बन्द, घुस खान नपाउँदा बन्द, ट्याक्सीको मिटर आफूखुशी 'एडजस्ट' गर्न नपाउँदा बन्द । विगतमा यी र यस्तै अनावश्यक, अराजक र अनैतीक माग र कारणका लागि धेरै पटक उपत्यका, कुनै जिल्ला वा नेपाल बन्द भैसकेका छन् । यस्तै र यो भन्दा पनि नाजायज कारण र मागका लागि धेरै पटक बन्द भैसकेकाले आजकल 'बन्द' भन्ने सुनेँ भने कसले?, किन?? वा के कारणले ??? भनेर सोध्न र सोच्न छाडेकी छु । भन्नको लागि जसले जेसुकै कारण देखाए पनि न त कुनै बन्दले कसैको माग पुरा हुन्छ न कुनै बन्दले कसैको सिद्धान्त वा सत्यता प्रमाणित हुन्छ । जसले जेको लागि भनेर आयोजना गरे पनि अन्तमा दु:ख पाउने जनता नै हुन्छन् र यो बन्दले आजको दिनसम्म कसैको भलो गरेको मैले सुनेकी छैन ।

हामीलाई दाल-भात भएर मात्रै हो । म त कहिलेकाहीँ सोच्छु प्रजातन्त्र भएको देशमा जनताले आफ्नो पसल खोल्दा तोडफोड हुन्छ, गाडि चलाउँदा आगजनी हुन्छ र आ-आफ्नो शिक्षा वा रोजगारको लागि हिँडदा मुठभेडमा पर्नु पर्छ भनेर विदेशीहरूले सुने भने हाम्रो देशको प्रजातन्त्रको कस्तो खिल्ली उड्ला भनेर मलाई लाज लाग्छ । त्यसमाथी प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रताको लागि बन्द आयोजना गरेर यो सबै तोडफोड गर्ने नेताको "ईमेज" थोरै मात्रै मानवता भएको वा सोच्ने शक्ति भएका मानिसमा कस्तो बन्ला जस्तो पनि लाग्छ ।

तर जे जस्तो भए पनि हाम्रोमा यस्तो बन्द चलीनै रहेको छ । अनि यस्तै बन्द गरेर करौडौँ जनतालाई दु:ख दिने नै 'नेता' वा 'ठूला मान्छे' भएका छन् यहाँ ।

आज पनि बन्द रैछ। तर माथी लेखेजस्तै कसले, किन र केका लागि गरेको भनेर कसैलाई सोधिन मैले । तर बारम्बारको बन्दबाट वाक्क भएका जनताले विस्तारै यो बन्दको विकृति रोक्न जागरूकता देखाएको कुराले भने मलाई केही उत्साहित गरेको छ ।

आज दिनभर कामको सिलसिलामा वाहिर निस्केको थिएँ । त्यसै समयमा आजको "असफल बन्द" केही तस्विरहरू खिचेँ । मोबाईलबाट र त्यो पनि चलीरहेको गाडीबाट खिचेकोले तस्विरहरू राम्रा छैनन् तर आजको बन्दको अवज्ञाले भने धेरै राम्रो सन्देश दिएको छ ।

आजको पोस्टमा यही बन्द अवज्ञाका केही तस्विरहरू:

Bandha (5)

(मोटरसाइकल, कार, टेम्पो र बस सबै चले आज-- सुन्धारा बाट न्यूरोड जाने बाटो)

Gausala Bandha

(ग्राहक पर्खेर बसेका ट्याक्सी, चल्दै गरेको माईक्रो र खुला सटरहरू--गौशाला नेरको दृश्य)

Bandha (6)

(यात्रुको चाप हैन, यात्रु पर्खदै गरेका सफा टेम्पोहरू--न्यरोड गेटनिेरको खाली टेम्पो)

Bandha (3)

(बस, ट्रक, टेम्पो,जिप सबै एकै ठाउँमा--चावहिल चोक नेरको एक दृश्य)

Bandha (4)

(लौ यहाँनेर त झण्डै जाम नै भाथ्यो -- हरेक बन्दको यस्तै अवज्ञा होसThumbs up )

अरू यता ...