27 November 2010

लौ, घुम्नुस लुम्बिनी !!!

लुम्बिनी भन्ने बित्तिकै मनमा छुट्टै श्रद्धा र सम्मानको भाव आउँछ । मानव चेतना र आध्यात्मिक उचाइको चरम बिन्दु मात्रै हैन, शान्तिको श्रोत र नेपालको परिचय नै बनिसकेको भगवान गौतम बुद्धको जन्मस्थान हो लुम्बिनी ।

त्यसो त लुम्बिनीको बारेमा सायदै केही कुरा लेख्न बाँकी होला र गुगल वा कुनै पनि सर्च इन्जिनमा Lumbini लेखेर खोजेमा हजारौँका संख्यामा तस्विरहरू भेटिनेछन् । ब्लग अपडेट नगरेको धेरै भएको र लुम्बिनीका केही तस्विरहरू साथमा रहेकाले यसपाला ब्लगमा त्यही प्रसिद्ध, पवित्र र परम शान्तिभूमी लुम्बिनीका केही तस्विरहरू राख्दै छु । सबै तस्विरहरु मोबाइलबाट लिईएका हुन, कुनै पनि तस्विर ठूलो गरेर हेर्न सोही तस्विरमा क्लिक गर्नुहोला । तस्विर आफैँ छुट्टै पेज वाट्याबमा खुल्नेछ ।

Lumbini-the birth place of Lord Buddha (3)

(धार्मिक र पुरातात्विक महत्वको पवित्रस्थल र मन्दिर--एक झलक)

Lumbini-the birth place of Lord Buddha (4)

(मन्दिर अगाडिको पवित्र कुण्ड, जहाँ बु्द्धलाई जन्म दिनु अगाडि उनको माताले स्नान गरेकी थिईन)

Lumbini-the birth place of Lord Buddha (1)

(लुम्बिनी गुरुयोजना अन्तर्गत बन्दै गरेको एउटा कोरिएन मन्दिर)

Lumbini-the birth place of Lord Buddha (2)

(...अनि यो निर्माण पुरा भैसकेको चिनीयाँ मन्दिरको प्रवेशद्वार)

Lumbini-the birth place of Lord Buddha (5)

(प्रसिद्ध अशोक स्तम्भ)

Lumbini-the birth place of Lord Buddha (8)

(मन्दिर परिशरमा ध्यानस्थ विदेशी साधकहरु)

Lumbini-the birth place of Lord Buddha (6)

(... र यो शान्ति-दीप)

विश्वमा शान्ति फैलिरहोस् !!!

अरू यता ...

15 October 2010

फेरि 'बन्द' ????, हैन दसैँ !!!

ब्लग अपडेट नगरेको पनि धेरै भयो । केही कार्य व्यस्तता र केही भने आफ्नै अल्छीपनका कारण धेरै दिन सम्म यो पन्नामा केही नयाँ कुरा हालिएको थिएन । हिजो आफ्नै किनमेलको लागि बाटोमा निस्कँदा अचानक बाटोमा एउटा ‘फोटो ब्लग’ बनिरहेको देखेँ । क्यामरा बोकेकी थिईँन त्यसैले साथमा रहेको मोबाईल क्यामराबाट ३-४ क्लिक गरी हालेँ ।

एउटा अनौपचारिक आँकडाका अनुसार दसैँको समयमा काठमाण्डौबाट करिब ३० देखि ४० % सम्म मानिसहरू बाहिर अर्थात काठमाण्डौबाट आ-आफ्नो घर फर्कन्छन् । त्यसैले भन्नलाई दसैँको रमझम भने पनि दसैँकै बेलाको काठमाण्डौ अरु बेलाको भन्दा केही सुनसान र खाली-खाली जस्तो देखिन्छ ।

बाहिर घर हुनेहरु आ-आफ्ना घर फर्कनाले मात्रै हैन, स्कूल, कार्यालय र प्राय: कुनैपनि किसिमका ओपचारिक कार्यक्रमहरु यो बेलामा नहुने भएकोले काठमाण्डौका सडकमा गुड्ने गाडिको संख्यामा यति बेला उल्लेख्य रुपमा कमी आएको हुन्छ । यसै कारण कुनै कुनै ठाउँमा त यो केही दिन सडक चकमन्न भएर ‘बन्द’ नै भएको हो कि जस्तो पनि आभास हुन्छ ।

हिजोको दिन तुलनात्मक रुपमा अरु दिन भन्दा केही चिसो भएको र बेला बेलामा पानी पनि परेकोले पनि सायद सडक अरु दिनभन्दा सुनसान र खाली थियो हिँजो ।

ल त, दसैँको शुभकामना सहित दसैँले रित्याएको काठमाण्डौका सडकका केहि झलकहरु :

Bandh or Dashain  (2)(बानेश्वर हाइटको यो सुनसान सडक- अरु बेलामा यहाँ 'जाम' नै लाग्ने गर्छ Smile)

Bandh or Dashain  (5)(चाबहिल जोडने कालोपुल- दसैँ लागेर सुनसान छ)

Bandh or Dashain  (3)(रातोपुल बाट गौशाला जाने बाटो--अरु बेलामा यहाँ बाटो काट्न पनि मुश्किल हुन्छ)

Bandh or Dashain  (1)(बन्दको बेलामा बाहेक अरु बेलामा काठमाण्डौमा यस्तो खाली सडक देख्नुभा छ? Open-mouthed smile)

Happy Vijaya Dashami !!!

अरू यता ...

18 August 2010

ल घुम्नुस पुरानो काठमाण्डौ !!!

हनुमान ढोका देखि काष्ठमण्डप अनि बसन्तपुर सम्मको क्षेत्र जुन ‘काठमाण्डौ दरबार स्क्वायर’ को नामले विदेशीमाझ अझै परिचित छ । मल्ल कालीन र शाहा कालीन रजाहरुको पुरानो दरबार मात्रै हैन्, पुराना मन्दिरहरू कलात्मक भवन संरचना र,  सुन्दर चोकहरुका कारण अहिले पनि उत्तिकै आकर्षक र सम्मोहक छ ।

विश्व सम्पदा सूचीमा परेको यो स्थानमा नेपालको प्रसिद्ध तलेजु मन्दिर, हनुमान ढोका दरबार, काल भैरव र जनश्रुती अनुसार एउटै रूखको काठले बनेको मानिने काष्ठमण्डप जस्ता धेरै पुरातात्वीक महत्वका संरचना र सांस्कृतिक विशिष्टता र कलाकारीताका नमूना र धरोहर रहेका छन् ।

त्यसो त यो स्थानका तस्बिर र यहाँको बारेमा चर्चा परिचर्चाले इन्टरनेटका धेरै पेजहरु भरिएका होलान् । तर आज भने यसै क्षेत्रका आजै खिचिएका केही तस्विरहरू: 

(तस्बिर ठूलो बनाएर हेर्न कुनैपनि तस्बिरमा क्लिक गर्नुहोला, सो तस्बिर आफैं अर्को ट्याब वा पेजमा खुल्नेछ )

Kathmandu Durbar Square (8)(वसन्तपुर तर्फबाट छिर्ने वेलामा छिर्दा छिर्दै देखिने दृश्य)

Kathmandu Durbar Square (3)(अतिक्रमणले केही च्यापिए पनि अझै सुन्दरता कायमै छ)

Kathmandu Durbar Square (6)(काठमाण्डौ दरबार स्क्वायरको चर्चा गर्दा यो हनुमान ढोका दरबार..)

Kal Bhairab(…काल भैरबको यो मूर्ति …)

Kathmandu Durbar Square (5)(…यी परेबाहरु…)

Kathmandu Durbar Square (9)(…अनि पर्यटक र श्वदेशी क्रेताका लागि विक्रिमा राखिएका वस्तुहरु कसरी छुटाउन मिल्छ ?)

Kathmandu Durbar Square (2)(सानो पशुपतिको नामले चिनीने यो महादेवको मन्दिर…)

Kathmandu Durbar Square (7)(…यो विशाल घण्ट..)

Kathmandu Durbar Square (1)(…अनि यो ऐतिहासिक र कलात्मक काष्ठमण्डप)

यीनै सम्पदाले यो क्षेत्रलाई अझै रहश्य र सुन्दरताको संगम बनाएको छ।

अरू यता ...

19 July 2010

हेर्नुस र पत्ता लगाउनुहोस् !!!

ब्लग अपडेट नगरेको पनि धेरै भएको थियो । अस्ति शनिवारको दिन बुढाको अफिसियल र आफ्नो भने अन-अफिसियल भ्रमणको सिलसिलामा एउटा शैक्षिक निकायमा पुगें । धेरैलाई थाहा होला, तर कतिलाई थाहा नहुन पनि सक्छ यो कुन ठाउँ हो भनेर। त्यसैले आजको पोस्टमा यो ठाउँ कुन हो र कहाँ छ केही नलेखि केही तस्बिरहरु मात्रै राख्दैछु :

हुन त माथी भनेजस्तै मेरो यो नितान्त ‘अनौपचारिक’ भ्रमण थियो । तर त्यहाँ पुगेर यो व्यवस्थित, सुन्दर र मनोरम दृश्यहरु भएको शिक्षालयको तस्बिर उतार्दा जत्ति आनन्द आएको थियो, त्यत्तिनै नरमाइलो यस शिक्षालयको वारेमा यथार्थ जानाकरी पाएपछि लाग्यो ।

ल, तपाईहरुनै हेर्नुहोस, यो कुन ठाउँ हो र यहाँ पुग्दा रोमान्च र उदेक दुबै लाग्ने कारण के होला अनुमान गर्नुहोस: (तस्बिर ठूलो बनाएर हेर्न कुनैपनि तस्बिरमा क्लिक गर्नुहोला, सो तस्बिर आफैं अर्को ट्याब वा पेजमा खुल्नेछ )

Nepal College (2)(मुलद्वार बाट प्रवेश गर्ने बित्तिकैको प्रशासकीय भवन)

Nepal College (3)(अन्य भवन र कम्पाउण्ड भित्रको मनोरम दृश्य)

Nepal College (4)(पृष्ठ भागमा हरियो पहाड र व्यव्सथीत भवन, उद्यान)

Nepal College (5)(यो प्रयोगशाला)

Nepal College (6)(बहुउद्देशीय भवन)

Nepal College (7)(प्रशिक्षण भवन)

Nepal College (9)(कक्षाकोठा र अन्य संरचनाहरु)

Nepal College (8)(छात्रावास…)

Nepal(…अनि खुल्ला आकाश, हरीयो डाँडा र अलि पर खेल मैदान)

थाहा पाउनु भयो त यी कुन ठाउँको र कुन शिक्षालयको तस्बिरहरु हुन ?

अरू यता ...

23 June 2010

काठमाण्डौका गल्लीहरु !

काठमाण्डौं: ऐतिहासिक सहर, सायद देशकै पहिलो महानगरपालिका र देशको राजधानी । झ्वाट्ट सोच्दा सफा, उज्यालो सुन्दर र चिल्ला फराकिला सडकको कल्पना मनमा आउँछ । तर काठमाण्डौंको सडक र बाटोहरूका भिन्नै कथा छन् । वास्तवमा भत्किएका, पुराना र खाडलै खाडलले भरिएका सडकहरू करिब करिब काठमाण्डौंका पहिचान नै बनी सकेका छन् ।

सडककै यस्तो हाल भएको ठाउँमा गल्ली र मसिना छेडोहरूका हाल झन् कस्तो होलान त? । कतै एउटा मोटर साईकल सम्म छिर्ने, कतै छेउ-छाउका काँडा र सिस्नुले बिझ्ला भनेर होसियार भएर त त कतै साँगुरो मोडमा विपरीत दिशाबाट गाई वा साँडेहरु आउने हुन कि भनि डराउँदै हिँड्नु पर्ने –हो यस्ता मसिना छेडो र गल्लीहरू अझै थुप्रै छन् काठमाण्डौमा । जहाँ कतै कतै दुइ जना एकैसाथ हिँड्न पनि मुस्किल हुन्छ ।

हुन त यस्ता गल्लीहरू निकै छन काठमाण्डौं मा तर आजको पोस्टमा भने मेरो आसपासमा रहेका केही यस्ता गल्लीहरूको तस्विरहरू :

Kathmandu Galli(कमलपोखरी बाट सानो गौचरण निस्कने गल्ली:- यो गल्लीमा दुईजना एकसाथ हिँड्न सजिलो छैन)

Balmandir Lane (बालमन्दिर बाट टंगाल निस्कने अर्को गल्ली--वर्षातमा छेउको काँडासंग साँच्चै होसियार भएर हिँड्नु पर्छ )

Chabahil Lane (चाबहिल क्षेत्रको एउटा अर्को गल्ली- यो पनि सार्वजनिक बाटो नै हो )

Narrow Lane(साँगुरो गल्ली र मसिना मोडहरु--मौलिकता कि विकासको पर्खाई ?)

Narrow dark lane(साँगुरो छेडो, छेउ-छाउमा फोहर, खम्बा अनि भित्तामा राजनैतिक नारा !। यस्तै छ !!) 

अरू यता ...

03 June 2010

अर्को एउटा अनौठो मन्दिर !

केही हप्ता अगाडि मैले यही ब्लगमा एउटा अनौठो मन्दिरका केही तस्बिरहरु राखेकी थिएँ । गतहप्ता काम विशेषले हिँडदै गर्दा आफ्नै छिमेकी वडामा अर्को एउटा त्यस्तै अचम्मको मन्दिरमा आँखा पर्‍यो । घरबाट नजिकै भएपनि र त्यो बाटोमा धेरैपटक ओहर-दोहर गरेपनि कहिले क्यामरा साथमा नहुने त कहिले फोटो खिच्न नमिल्ने विविध कारणले गर्दा सो मन्दिरको फोटो खिचेर राख्ने मौका मिलेको थिएन । यसपाला भने त्यहीबाट हिँडदा केही तस्बिर खिचेँ नै ।

काठमाण्डौको वडा नं ४ मा अबस्थित र बोलीचालीको भाषामा कहिलेकाही 'धुमबाराही' पनि भनिने यो मन्दिर वास्तबमा धुम्र बराहको हो ।

पिपलको जरा र फेदले तीनतर्फ घेरीएको यो मन्दिर त्यही रुखले गर्दा नै एकदमै अनौठो देखिएको छ । रूखले यो मन्दिरलाई अनौठो मात्रै बनाएको छैन, अनौठैसंग सुरक्षीत पनि गरेको छ । झ्वाट्ट हेर्दा मन्दिरले नै यो विशाल बृ्क्ष बोकेको जस्तो भान पर्ने गरी मन्दिरको छानाको ठीक बीचबाट आकाश्शीएको पिपल निक्कै मोटो र अग्लो छ । आजको पोस्टमा यही मन्दिरका केही तस्बिरहरु :(ठुलो आकारमा हेर्न कुनै पनि तस्बिरमा क्लिक गर्नुहोस- तस्बिर आफैं अर्को पेजमा खुल्नेछ)

Front door, Dhumra Baraha (मूल द्वार- मन्दिरको मानव निर्मित भौतिक हिस्सा, वाँकी प्राय: जराले नै घेरेको छ)

 Dhumra Baraha (3)( ल हेर्नुस मन्दिरको देब्रेतर्फको बनोट – जराले नै भित्ता र गाह्रोको काम गरेको छ)

 Dhumra Baraha, Back side(यो मन्दिरको पछाडिको भाग- पर्खाल भने पनि भित्ता पनि यही नै हो )

Dhumra Baraha (12)(अलि टाडाबाट हे्र्दा यस्तो देखिन्छ मन्दिर)

Dhumra Baraha Far front(अनि रूख र मन्दिर पुरै खिच्दा यस्तो- मन्दिरले नै रुख बोकेजस्तो छैन त?) 

अरू यता ...

03 May 2010

सत्ता आन्दोलन र कष्टकर जीवन !

राजनीति नबुझ्ने भएकोले हाल चलेको आन्दोलन कसले, किन र केका लागि गरेको भन्ने मैले बुझ्न सकेको छैन । संवैधानिक प्रक्रियाबाटै सरकारको विघटन गराउन सकिने मार्ग प्रशस्त भएको र चुनावमा सबैभन्दा बढी भोट पाउने दल नै उल्टै सडक आन्दोलनमा लागेकोले यो कुरा बुझ्न झनै गाह्रो भएको छ म जस्तै सामान्य नेपालीहरुलाई ।

साधारण नेपालीले यो आन्दोलन के हो भन्ने नबुझे जस्तै, आम हडताल, आन्दोलन वा बन्द जे भनिएपनि यो प्रयोजन गराउने समुहले पनि जे जसो गरे पनि दु:ख पाउने जनता नै भएको कुरा पनि बुझेका छैनन् ।

विगत तिन दिन देखि राजधानि ठप्प छ । राजनैतिक स्वार्थका लागि नेताले देश ठप्प पारेर पाँच तारे होटलमा शान्ति वार्ता गरिरहँदा म र म जस्तै धेरैजना साधारण नागरिकहरु भने खाना- नाना र छानाको जोरजामाको लागि जे जसो गरेर भएपनि आआफ्नो कामको ठामसम्म पुग्नै पर्ने वाध्यतामा भिडेका देखिन्थे ।

यातायात साधनको अभावमा मुख्य मुख्य स्थानमा पुग्न नसकेपनि घर देखी कार्यालयसम्म पुग्दाका केही दृश्यहरु आजको पोस्टमा राख्दैछु: (तस्बिर ठूलो गरेर हेर्न कुनै पनि तस्बिरमा क्लिक गर्नुहोला- तस्बिर आफैं अर्को पेजमा खुल्नेछ)

Chabahil (चावहिल चौकको विहानको दृश्य)

Students(अस्तिको दिन अन्यौल र अनिश्चितका कारण केही  विद्यार्थीहरु परिक्षा केन्दरतर्फ पैदल जाँदै)

Road 1(बन्द पसल,सुनसान सडक र कष्टकर जीवन)

Taxies (रिस्क किन लिने !- तोडफोड हुने त्रासका कारण थन्काईएका ट्याक्सीहरु)  

Julus(जिन्दावाद ! मुर्दावाद!!)

अरू यता ...

16 April 2010

हाँडीगाउँको अनौठो कृष्ण मन्दिर !

त्यसो त अधिकांश मानिसहरु हिन्दू धर्ममा आस्था राख्ने काठमाण्डौका चोक, गल्लीमा कृष्ण मन्दिर र हिन्दूहरुले पूज्दै आएका पिपलको रुख देखिनु कुनै अचम्मको कुरा हैन, तर काठमाण्डौंको हाँडिगाउँ वडा नं ५ को भुत्तेश्वर नेर भने एउटा गजबको संयोग बनेको छ । कृष्ण मन्दिर र पिपलको विशाल रुखको ।

प्राचिन मानिने सो कृष्ण मन्दिरको छानामा पिपलको विशाल रूख खडा भएको छ । तर अचम्म के भने सो रुखले मन्दिरलाई भत्काएको छैन बरु उल्टै यसका जराहरुले मन्दिरका गाह्रोहरुलाई दह्रोसंग समातेर अड्याएको छ, मानौं मन्दिर बनाउने बेलामा नै रुखको हिसाब किताब गरेर बनाईएको होस । मन्दिरको छानाको बिचबाट खुल्ला आकाशतर्फ हान्निएको विशाल रुखले मन्दिरलाई भत्काउने हैन बरु रहश्यमय र आकर्षक बनाईदिएको छ ।

यहाँको कृष्ण मूर्ति जयप्रकाश मल्लको कालमा निर्मीत मानिन्छ भने यो प्राचिन मन्दिरको गजुर भेद्दै उर्ध्वगमनमा निक्लेको पिपल पनि निकै पुरानो रूख हो ।

यसै पनि हामीकहाँ पिपलको रुख काट्न हुन्न भन्ने परम्परा छ त्यसमाथि पनि झट्ट हेर्दा हाल यो रुख कहाँ अन्त हुन्छ र मन्दिर कहाँ सुरु हुन्छ भन्ने पनि ठम्याउन मुश्किल छ ।

गीतामा श्रीकृष्णले

अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः ।

भन्दै वृक्षमा आफू पिपल भएको उद्घोष पनि गर्नु भएको छ । सायद यो भगवानकै लिला हो कि त ? । जे होस आजको पोस्टमा यही अनौठो कृष्ण मन्दिरका केही तस्विरहरु:

(ठूलो गरेर हेर्न कुनैपनि तस्विरमा क्लिक गर्नुहोला: सो तस्विर आफैं अर्को पेजमा खुल्ने छ)

Handigaon Krishna Temple (1)(मन्दिरले रुख थामेको हो कि रुखले मन्दिरलाई अड्याएको हो !)

Handigaon Krishna Temple (2)(नजिकबाट हेर्नुस त मन्दिरको सबै सुरमा थामको काम गरेका छन मोटा मोटा जराहरुले)

Handigaon Krishna Temple (7)(अगाडि मात्रै हैन मन्दिर पुरै जकडिएकोछ पिपलकै जराले)

Handigaon Krishna Temple (9)(यो अर्को कोणबाट)

Handigaon Krishna   (जसको मन्दिरको चर्चा उसैको दर्शन नगराउनु पनि भएननि त, ल यिनै हुन ति लिलाधर!)

अरू यता ...