03 September 2012

स्वर्णिम युगका ढुङ्गेधारा र ढुङ्गेयुगका हामी !

स्कुल पढ्ने बेलामा इतिहास पढ्दा लिक्षवी काललाई नेपालको ‘स्वर्ण युग’ भनेको देख्दा अलि अचम्म लाग्थ्यो । त्यति बेला के नै थियो होला र त्यसलाई स्वर्ण युग भनियो होला भनेर । लाग्थ्यो, अहिलेको समय नै त्यो समय भन्दा विकसित र आराम पूर्ण छ र हामी कुनै पनि ऐतिहासिक कालखण्डमा भन्दा अहिलेको समयमा बढी सुविधा सम्पन्न छौँ । इतिहासमै फेरि मल्ल काललाई पनि ‘सम्पन्न’ भनेको देख्दा पनि बेमेल झैँ लाग्थ्यो ।

केही समय अगाडि उपत्यकाको विभिन्न स्थानमा रहेका ढुङ्गेधाराहरू देख्दा लाग्यो, हो अहिलेको युग भन्दा पुरानो समय नै स्वर्णीम थियो र अहिलेको नेताहरू भन्दा ढुङ्गे युगका नेतृत्व नै बढी सक्षम र कुशल थिए ।

सैयौ-हजारौँ वर्ष अगाडि बनाइएका कैयौँ ढुङ्गेधाराहरूको हालको दशा देखेर लाग्यो अहिलेको नेतृत्व मात्रै नालायक हैन्, तात्कालिन ‘रैती’ भन्दा पनि हामी आजका ‘नागरिक’ पनि अझै गए-गुज्रेका छौँ । ब्लग नै लेख्न भनेर उपत्यकाको सबै ठाउँ चहारेर त हिँडिन, तर बेला बखत बाटो पर्दा पुगेको ठाउँमा रहेका ढुङ्गेधाराहरूको बिजोगको तस्विर भने उतारेको छु । अधिकांश स्थानमा पुर्खाले बनाइ दिएका यस्ता ढुङ्गेधाराको दयनीय हालत छ र ढुङ्गेयुगका ती विरासत अहिले ‘धारा’ हैन ‘ढुङ्गा’मा मात्रै सिमीत भएका छन् । आजको पोस्टमा यस्तै केही ढुङ्गेधाराहरू:

(फोटो ठूलो पारेर हेर्न कुनै पनि फोटोमा क्लिक गर्नुहोला - - फोटो आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)

Sundhara

(यो काठमाण्डौको प्रसिध्द सुनधारा - - ‘सुन’ त यहाँ पहिले देखि नै थिएन अब पानी नआउने भएकोले ‘धारा’ पनि रहेन)

Dhunge Dhara (13)

(अनि यो आफ्नै घर नजिकको सत्यनारायण मन्दिर नेरको ढुंङ्गेधारा – यहाँ पनि पानी नबगेको धेरै भइसक्यो ।)

Dhunge Dhara (9)

(हाँडिगाउँ कै यो अर्को ढुङ्गेधारा – विस्तारै खण्डहर हुँदै छ यो पनि)

Dhunge Dhara (8)

(धोविधाराको यो अर्को सुख्खा धारा—धन्न यहाँ फोहर थुपारिएको भने छैन्)

Dhumra Baraha

(धुम्रबराह (धुमबाराही) नेरको अर्को सुख्खा धारा—पानी नआउने धारा यत्ति सफा देखिनु पनि अचम्म नै हुन्छ आजकल :)

Dhunge Dhara (5)

(धोवीधारा कै यो अर्को फोहर धारा, यहाँ पानी हैन, ढुङ्गेधारा खोज्न पनि मुश्किल पर्छ)

Jayabageshwari (1)

बल्ल बल्ल जयवागेश्वरीमा एउटा पानी आउने धारा देखियो - - तर त्यहाँसम्म पुग्न पौडेर जानुपर्ने स्थिति थियो)

Dhobi Dhara (5)

(यो धाराको बिजोग मात्रै हैन्, यसले हाम्रो वौद्धिकता र सामाजिक उत्तरदायित्वलाई पनि झल्काउँछ )

Dhunge Dhara (3)

(धन्न पाटन दरवार क्षेत्रमा एउटा पानी आउने धारा पनि भेटियो – पानी थाप्न राखिएको भाँडाहरूको दोहोरो लामले यहाँ पानी आउँदो रैछ भन्ने प्रमाणित गर्थ्यो)

अन्तमा लाग्यो ढुङ्गेधाराहरू ढुङ्गेयुगमा हैन्, स्वर्णीम युगमा नै बनेका रहेछन्। बरू ती विरासतलाई सम्हालेर राख्न नसक्ने हामीमा नै कतै ढुङ्गेयुकका मानसिकता त छैन ?

अरू यता ...

16 June 2012

कंक्रिटले गाँजेको काठमाण्डौ !

त्यसो त काठमाण्डौ पहिला पनि खुल्ला वा स्वच्छ सास मिल्ने सहर भने थिएन भन्दा पनि हुन्छ। त्यसमा पनि सुविधा, सुरक्षा वा सहुलियत केही नभए पनि यहाँ ओइरिने जनघनत्वमा खासै कमी नआएको र दिनदिनै बन्दै गरेका भीमकाय विशाल भवनहरूले काठमाण्डौलाई झनै गाँज्दै लगेको छ । कुनै वेला भानुभक्तले ‘अमरावती’ को संज्ञा दिएका हाम्रो राजधानी अहिले धूलो, मैलो र फोहरले मात्रै हैन्, अनियन्त्रित र बेढंगले बनाइएका संरचनाहरूका कारण झन् झन कुरूप हुँदै गइ रहेको छ ।

केही हप्ता यता कामको सिलसिलामा तीन सहर घुम्ने क्रममा १-२ वटा अग्ला भवनहरू माथि उक्लेर हेर्दा यो सहरको रूप ‘बिरूप’ भएको झन प्रस्ट भयो । आजको पोस्टमा यही अमरावती बाट अधोगती तर्फ लम्केको काठमाण्डौका केही कंक्रिट जङ्गलका तस्विरहरू:

(फोटोलाई ठूलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला। फोटो स्वत: ठूलो आकारमा अर्कै पेजमा खुल्नेछ )

Dilli Bazaar

(कुरूपता माथि नयाँ दाह्रा र नङ्ग्रा--डिल्लीबजार कालिकास्थान तर्फको एक दृश्य)

Dillibazaar

(हावा समेत छिर्न मुस्किल होला जस्ता संरचनाहरू—डिल्लीबजार छेउको अर्को कोण)

Soyambhu

(कंक्रिटको घना जङ्गल—स्वयम्भु माथिबाट देखिने एक दृश्य)

Yekantauna

(खाली ठाउँ त कहाँ छ र ? – एकान्तकुनाबाट हेर्दा यस्तो देखिन्छ)

Soyambhu side

(थाहा छैन यो सहरले कसरी सास फेर्छ—स्वयंम्भु माथीबाट देखिने तुवाँलोले ढाकेको दृश्य)

IMG044

(यो पनि खाली ठाउँ भने हैन है … एयरपोर्ट माथिबाट पश्चिमतर्फको विस्तार हुँदैको जङ्गल)

Chabahil

(यो खुल्ला क्षेत्र पनि कत्ति नै टिक्ला र—फैलिदैँ आएको विस्तारले अतिक्रमित धोवीखोला छेउ)

अरू यता ...

25 April 2012

आउनुस बौद्ध घुमौँ !

बोलीचालीको भाषामा बौद्ध वा ‘बौद’ समेत भनिने बुद्धधर्मसँग सम्बन्धित प्रसिद्ध स्तूप बौद्धनाथ काठमाण्डौको पूर्वतर्फ रहेको छ । घरबाट करिव ३-४ किलोमिटरको दूरी मात्रै रहरेपनि युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्ने काठमाण्डौका केही पवित्र स्थलमध्येको यो स्तूपमा पुग्न संजोग पर्नु पर्छ ।

पाँचौ शताब्दी अर्थात् लिच्छविकालमा निर्माण गरिएको मानिने र निर्माणक्रम १२ वर्षसम्म चलेको बताइने यो विश्व प्रसिद्ध स्तुप र क्षेत्र बौध्दमार्गीहरूको लागि त तीर्थस्थल नै हो।

यस स्तूपमा बौद्ध परम्परा अनुसार निर्माण प्रक्रिया सकि ‘राप्ने’ (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भन्ने जस्ता एकदमै कौतूहलपूर्ण र आश्चर्य जनक किंवदन्ती पनि प्रचलित छन यस स्तूपका बारेमा ।

यो स्तूप र क्षेत्रको बारेमा अरू जानकारी विकिपीडिया र अन्त पनि प्रशस्त पाइन्छ । आजलाई भने यस प्रसिद्ध स्तूप र वरिपरिका केही तस्विरहरू:

(फोटोलाई ठूलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला। फोटो स्वत: ठूलो आकारमा अर्कै पेजमा खुल्नेछ )

Boudhha (5)

(सौम्य, शान्त त शीतल—गज्जबको आकर्षण छ यो स्तूपमा)

Boudhha (1)

(झन् बौद्ध ग्रन्थ र मन्त्रहरू छापिएका यी रङ्गीचङ्गी ध्वजापताकाले सुन्दरतामा अर्कै रङ्ग भर्छ)

Boudhha (2)

(दक्षिण-पूर्वी कुनाका अरू केही स्तूपहरू समेतको एक झलक)

Boudhha (7)

(चार हात खुट्टा टेकेर मन्दिर परिक्रमा गर्दै एक भक्त)

Boudhha (8)

(उत्तर-पूर्वी कुनामा रहेको यो बिसाल घन्ट पनि आकर्षणको केन्द्र बन्ने गरेको छ)

Boudhha (9)

(सेवा पनि व्यापार पनि—परेवालाई दिइने अन्न बेच्दै एक व्यापारी (इन्सेकमा ती अन्नहरू)

IMG268

(एउटा कुनाको रूखमुनि ध्यानस्त एक साधक)

विश्वमा शान्ति फैलि रहोस् !!!

अरू यता ...

23 February 2012

बोल्ने फोटो !

काठमाण्डौको मौसम अजब-गजबको छ/हुन्छ । कहिले गर्मी छ भनेर पातलो लुगा लगाएर निस्केको केही छिनमै हावा चलेर वा वर्षात भएर थरथर काँप्नु पर्छ त कहिले जाडोको पूर्ण तयारीका साथ प्रशस्त कपडा गुथेर हिँड्दा टन्टलापुर घामले चिट चिट पसिना छुटाउँछ ।

त्यसो त ‘जाडो महिना’, ‘गर्मी महिना’ वा हिउँद- गर्मी-शरद वा वर्षातको आ-आफना समय छन्, तैपनि कहीलेकाही मौसमले बदमासी गरिदिन्छ र चिसो-तातोको नियम पूर्णतः लागू हुँदैनन् अनि मानिसहरू मौसमको मजाक वा बदमाशीमा नराम्ररी फस्छन् पनि ।

काठमाण्डौको मौसम अहिले पनि करिब करिब त्यस्तै ‘मजाकिया’ स्वभावको भएको छ। मतलब, कुन बेला जाडो वा गर्मी हुन्छ भन्न सकिन्न वा कुनै पनि बेला गर्मी र कुनै पनि बेला जडो हुन्छ अचेल । मौसमको यो मजाकले गर्दा बाटो हिँड्ने मानिसहरू घर बाहिर निस्कँदा के कस्तो लुगा-कपडा लगाएर निस्कने भन्नेमा ‘कन्फ्यूज’ हुन्छन् ।

केही दिन अगाडि नयाँ बानेश्वर चोकनेर पुग्दा मौसमले झुक्याएका मानिसको यस् एउटा दृश्य देखियो । गाडिमा थिएँ र साथमा क्यामेरा पनि थिएन। तैपनि मोबाइल फोनबाटै भए पनि १-२ कल्किक लिएँ। आजको पोस्टमा त्यही बोल्ने फोटो :)

Confusion of Weather

(फोटो एकैछिन हेर्नुस त ….मौसमको मजाकले झुक्याइएको दृश्य सजिलै पहिचान हुन्छ Open-mouthed smile)

माथिको फोटोबाट कुरो ‘क्लियर’ नभएको भए अर्को एउटा ‘मोबाइल जूम’:

Tshirt and leather jacket

(रमाइलो छैन त ?… एकै समय र स्थानमा कोही हाफबाउले टिसर्ट त कोही बाक्लो छालाको ज्याकेटमा Winking smile)

अरू यता ...

17 January 2012

साँच्चै, के यस्तै मात्रै हो त नयाँ नेपाल ???

ब्लग अपडेट नगरेको पनि धेरै नै भएछ । यो बीचमा ब्लगमा राख्ने सर्जामको अभाव भएको पनि हैन्। तर विविध कारणले गर्दा यसपाला फेरि ब्लग टाँस्न धेरै ढीला भएछ ।

आज, बाटोमा हिँड्दै गर्दा नक्साल-नाग पोखरी नजिक एउटा घरको भित्तामा टाँसिएको एउटा फ्लेक्स पोस्टरमा ध्यान गयो । टाडैबाट हेर्दा पनि कुनै सामन वा चलचित्रको विज्ञापन होइन जस्तो लाग्यो र नजिकै गएर हेरेँ।

राजनैतिक खिचातानी र अनुत्तरदायी नेता अनि अस्तव्यस्त भएको देशको हाल देखेर कोही सज्जनले लेखेको एउटा मनको बह रहेछ त्यो पोस्टरमा । बाटो पारीबाट हेर्दा राम्ररी पढन नसके पछि म बाटो वारी नै गएँ सो पोस्टर पढ्न् ।

New Nepal (3)

हुन पनि मुखले ‘नयाँ’ भनेर मात्रै नहुने रहेछ। जत्ति ‘नयाँ- नयाँ’ भने पनि नेपालको हाल बत्ति, पानी, इन्धन आदिको अभावका कारण झन् झन् बेहाल हुँदै गएको छ र हाम्रो ढुङ्गे युगतर्फको यात्रा जारी छ । न्यूनतम आवश्यक बस्तुको अभावले मात्रै हैन् सायद सामाजिक सुरक्षा र गतिछाडा नेताको हर्कतले पनि सायद यी हरफहरूका लेखकलाई निराशातर्फ धकेलेको हुनसक्छ ।

त्यसो त देश र जनताको सुन्ने बानी हाम्रा नेतामा पाइन्न। तर खुला सडकका भित्तामा लेखिएका यस्ता हरफहरूलाई कुनै एकजना मानिसको निजी विचार मात्रै ठानेर बस्ने स्थिति पने पक्कै पनि छैन् । भाषा वा शब्द फरक पर्लान, तर सायद अहिलेकै समयको कुरा गर्ने हो भने यी दुई पोस्टरमा रहेका भावहरूले धेरै नेपालीको प्रतिनिधित्व गर्ला:

New Nepal (2)

(तस्बिरलाई ठूलो गरेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोला- - तस्बिर अर्को पेजमा ठूलो आकारमा खुल्ने छ) 

साँच्चै, के यस्तै मात्रै हो त नयाँ नेपाल ???

अरू यता ...