काठमाण्डौं: ऐतिहासिक सहर, सायद देशकै पहिलो महानगरपालिका र देशको राजधानी । झ्वाट्ट सोच्दा सफा, उज्यालो सुन्दर र चिल्ला फराकिला सडकको कल्पना मनमा आउँछ । तर काठमाण्डौंको सडक र बाटोहरूका भिन्नै कथा छन् । वास्तवमा भत्किएका, पुराना र खाडलै खाडलले भरिएका सडकहरू करिब करिब काठमाण्डौंका पहिचान नै बनी सकेका छन् ।
सडककै यस्तो हाल भएको ठाउँमा गल्ली र मसिना छेडोहरूका हाल झन् कस्तो होलान त? । कतै एउटा मोटर साईकल सम्म छिर्ने, कतै छेउ-छाउका काँडा र सिस्नुले बिझ्ला भनेर होसियार भएर त त कतै साँगुरो मोडमा विपरीत दिशाबाट गाई वा साँडेहरु आउने हुन कि भनि डराउँदै हिँड्नु पर्ने –हो यस्ता मसिना छेडो र गल्लीहरू अझै थुप्रै छन् काठमाण्डौमा । जहाँ कतै कतै दुइ जना एकैसाथ हिँड्न पनि मुस्किल हुन्छ ।
हुन त यस्ता गल्लीहरू निकै छन काठमाण्डौं मा तर आजको पोस्टमा भने मेरो आसपासमा रहेका केही यस्ता गल्लीहरूको तस्विरहरू :
(कमलपोखरी बाट सानो गौचरण निस्कने गल्ली:- यो गल्लीमा दुईजना एकसाथ हिँड्न सजिलो छैन)
(बालमन्दिर बाट टंगाल निस्कने अर्को गल्ली--वर्षातमा छेउको काँडासंग साँच्चै होसियार भएर हिँड्नु पर्छ )
(चाबहिल क्षेत्रको एउटा अर्को गल्ली- यो पनि सार्वजनिक बाटो नै हो )
(साँगुरो गल्ली र मसिना मोडहरु--मौलिकता कि विकासको पर्खाई ?)
(साँगुरो छेडो, छेउ-छाउमा फोहर, खम्बा अनि भित्तामा राजनैतिक नारा !। यस्तै छ !!)