आजकल छोरीको छुट्टी चलीरहेको छ,--केटाकेटीको छुट्टी, मतलब बाबुआमाको जिम्मेबारीमा बृद्धि । कहिले कुनै पार्क त कहिले कुनै रिक्रियशन सेण्टर। फेरी आफ्नो बच्चा मात्रै हो कि सबैको यस्तै हो कुन्नी, एक पटक गएको र एक पटक हेरेको चिजमा दोश्रो पटक कुनै रुचि नै नहुने । सधैं नयाँ नयाँ को खोजी गर्ने बानी, सायद अहिलेको समयको हावा नै यस्तै होला ।
अघिल्लो हप्ता बजारमा एउटा ‘एसेम्बल ट्वाईज’ को नाममा राखिएको एउटा खेलौनामा हामी आमा-छोरीकै आँखा पर्यो । पेच, कीला र साना- साना धातुका टुक्राहरु जोडेर विभिन्न आकार, फरक फरक नमूना र ढाँचाहरु तयार गर्न सकिने यो खेलौनाले ‘टाईम पास’ हुन सक्ने निर्क्योल निक्ल्यो र किनियो पनि ।
खेलौनामा पाँच बर्ष भन्दा माथीकोलागि भन्ने उमेर वर्ग छुट्याएको भए पनि घर ल्याएर प्याकेट खोले पछि थाहा भयो, यो खेलौनाको ‘मेकानिकल जोड-जाम’ गर्ने काम ८-१० बर्ष भन्दा मुनीको केटा-केटीलाई सायदै सम्भव होला ।
पहिला छोरी ‘म आफैं बनाउँछु’ भनेर कस्सी, तर एकै छिन छाम-छाम, छुम-छुम गरेर सबै पूर्जाहरु छरपस्ट पारेपछि उस्को अनुहार हेर्न लाएक भएको थियो। अब त्यो भन्दा बढि समय तीनकै हातमा यो सबै कुरा छाडे, रीसको झोकमा केहि तन्तुहरुका अंग प्रत्यङग टुटने र केहि पाट पुर्जाहरुले शाहदत नै प्राप्त गर्न सक्ने सम्भाबना देखे पछि उसको खेलौना आफैं बनाईदिने बाहेक अर्को विकल्प रहेन । अनी स्कुल चलेको बेलामा होमवर्कमा ‘मद्दत’ गरेको जस्तै गरी छुट्टीको बेलामा पनि खेलौना बनाउने मद्दत गर्न अघी
( खेलौना जोडन नसकेपछिको कोप मुद्रा )
(यो मेरो पहिलो प्रयास- हेलिकप्टर)
खेलौनाका सबै अबयबहरु भुईमा छरेर ड्रईग हेरेपछि थाहा भयो, या त, यो ५-७ बर्षे उमेर समुहको लागी बनेको खैलौना होईन। या त, प्याकेटमा जे सुकै लेखीए पनि ‘बाबु-आमाले नै बनाईदिनु पर्ने’ अघोषीत निर्देशिका पनि यसमा रहेको हुनुपर्छ।
अनी शुरु गरें केहि ढाँचाहरु बनाउने उपक्रम। साँच्चै भन्ने हो भने यसमा भएका सबै ढाँचा तयार गर्न ठुलै मान्छेलाई पनि निकै समय लाग्ने रहेछ । कमसेकम ८-१० बर्ष भन्दा मुनिकाले त यसको साथै आउने ‘स्क्रु ड्राईभर’ र ‘रेञ्च’ पनि राम्ररी चलाउन सक्दैनन् ।
केहि खेलौनाहरु तयार गरीयो, तर बितेको एक हप्तामा छोरीको यो खेलौना प्रतिको आकर्षण पून ह्वात्तै घटीसकेको छ । हुन त यीनै अबयबहरु जोड-जाम गरेर अझै निक्कै नयाँ ढाँचाहरु पनि तयार गर्न सकिन्छ तर भन्नलाई छोरीको खेलौना भने पनि बनाउन आफैंले पर्ने भएपछि उसलाई यो सबै कुरा भनेको पनि छैन :)